बागमती प्रदेश सभाको आयोजनामा सम्पन्न ‘संसदीय पत्रकारिता तालिम’ बिहीबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, मार्खुमा समापन भएको छ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा बागमती प्रदेशका मकवानपुर जिल्लाबाट आएका ३० जना भन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको उद्देश्य प्रदेशसभाको कार्यविधि, कानुनी प्रक्रिया, बजेट निर्माण र कार्यान्वयन प्रणाली, सांसदहरूको भूमिका तथा पत्रकारिताको उत्तरदायित्वबारे जानकारी दिएका थिए। तालिममा प्रदेशसभा सचिवालयका उच्च पदस्थ अधिकारी, कानुनविद् र सञ्चार विज्ञहरूले सहजीकरण गरेका थिए।
समापन समारोहमा बोल्दै बागमती प्रदेश सभा सभामुख भुवनकुमार पाठकले प्रदेश स्तरको संसदीय अभ्यासलाई सुदृढ पार्न पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले सत्य, तथ्य र विश्लेषणमा आधारित संसदीय रिपोर्टिङ प्रदेशको लोकतान्त्रिक अभ्यासका लागि अपरिहार्य भएको बताए।
कार्यक्रममा सहभागी पत्रकारहरूले यस्तो खालको तालिमले संसदीय गतिविधिलाई अझ प्रभावकारी ढङ्गले रिपोर्ट गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिएका थिए। तालिममा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो।
तालिम बागमती प्रदेशसभा सचिवालय तथा अन्य पत्रकार सङ्गठनहरूको सहकार्यमा सम्पन्न भएको हो।