नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताएका हुन्।
उनले भने,‘सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर देखिएको छैन। सरकार बोल्छ एकातिर व्यवहार अर्को देखाउँछ। सङ्घीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस्।’
साथै उनले लामो समयको बहस र छलफलपछि सदनमा आएको सङ्घीय निजामती विधेयक चाँडो पारित गरेर प्रदेश र सङ्घीय सरकारका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए। 
सङ्घीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले बारम्बार दबाब दिइरहेको भए पनि सरकारकै अनिच्छाको कारण ती विधेयक अहिलेसम्म अड्किएको बताए।