खानेपानीमन्त्री प्रदीप यादवले स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउने सरकारको प्रतिबद्धता रहेको बताएका छन्। 
बिहीबार धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले आयोजना मार्फत नगरवासीलाई घरदैलोमै स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी पुर्‍याइ यहाँका स्थानीयवासीको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।
आयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, प्राविधिक समूह र जनसहभागिताको ठुलो भूमिका रहेको उल्लेख गर्दै मन्त्री यादवले प्रशंसा समेत गरे। उनले यस्ता आयोजनाले समावेशी विकासलाई तीव्रता दिने उल्लेख गर्दै अन्य वडाहरूमा पनि क्रमशः यस्ता योजना विस्तार गरिने प्रतिबद्धता जनाए। 
यसैगरी मन्त्री यादवलेधनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना साकार भएको बताएका छन्।
धनगढी माईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरूको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताए। 
खानेपानी सचिव इन्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्यले मन्त्रालयको नीति तथा योजनाले नागरिकको हित र समुन्नतिलाई केन्द्रबिन्दुमा राखी सुरक्षित, भरपर्दो र दिगो खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने प्रमुख लक्ष्य रहँदै आएको बताइन्।
यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामुकमार श्रेष्ठले खानेपानी विभागले मानव विकास सुचाङ्क कम भएका स्थानमा प्राथमिकताका साथ खानेपानी योजना कार्यान्वयन गरिरहेको र तराई मधेसका २८० वटा अधुरो योजनाहरू सञ्चालन गर्न नीतिगत सुधार गरी कार्यान्वयन गर्ने तयारीमा रहेको जानकारी दिए।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधनप्रसाद सिंह तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतोले धनगढीमाई नगरपालिकाको वडा नं ११,१२ र १३ निर्माण सम्पन्न भएको डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाले यहाँका नागरिकहरूको पानीको समस्या दीर्घकालीन रूपमा समाधान गरेको भन्दै खुसी व्यक्त गरेका थिए।
रु १० करोड ९४ लाख लागतमा पाँच वर्षपछि निर्माण सम्पन्न भएको उक्त आयोजनाबाट वडा नं ११, १२ र १३ का कम्तीमा पनि एक हजार ५०० घरधुरीका आठ हजार छ सय जना लाभान्वित हुने लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका आयोजना प्रमुख हरिप्रसाद शर्माले जानकारी दिए।