बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ। 
शुक्रवार सिन्धुलीको मूल कोटमा काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले १५ दिनको लागि बेलुका ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारी साधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। 
वर्षाको मौसमले राजमार्गका विभिन्न खण्डमा काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डमा क्षति पु¥याएकोले यात्रु तथा चालकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको बताइएको छ।
राजमार्गका धेरै ठाउँमा पहिरोको जोखिम र चिप्लो सडक भएका कारण सवारी सञ्चालनलाई अस्थायी रूपमा रोक्ने निर्णय भएको हो। 
निर्णय अनुसार काठमाडौँबाट बाहिरिने सवारी साधनलाई काभ्रे भन्ज्याङमै रोकिने भएको छ भने काठमाडौँतर्फ जाने सवारी साधनलाई सिन्धुलीको खुर्कोटमा रोकिने भएको छ। सो निर्णय आजैबाट लागू हुनेछ। 
बिपी राजमार्ग राजधानी काठमाडौँलाई तराईसँग जोड्ने महत्त्वपूर्ण राजमार्ग हो। दैनिक हजारौँ यात्रु र मालवाहक गाडी यही बाटो भएर आवतजावत गर्ने गर्दछन्। 
गएको वर्ष असोज महिनामा आएको बाढीले रोशी खोला क्षेत्रमा सडकमा ठुलो क्षति भएको छ। अप्ठेरो सडक हुँदा चौकी डाँडामा दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ।