मनसुनको सुरुआती पहिलो महिनामा मुलुकभर सरदर भन्दा कम वर्षा भएको छ। जुन महिनासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको छ।

जल तथा मौसम विज्ञान विभागले जुन एक तारिकदेखि जुलाई १० सम्मको मनसुनको अवस्था विश्लेषण गरी जारी गरेको पुनरावलोकनमा सरदरभन्दा कम वर्षा भएको देखिएको हो। 

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई जनाउँछ। यस वर्षको मनसुन मे २९ तारिकमा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो। मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो। तर, यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो सुरु भएको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पाँच सयभन्दा बढी वर्षा मापन केन्द्र छन्। विभागले दैनिक अनुगमन गरेका २० केन्द्रहरूमध्येको तथ्यांकहरूका आधारमा मधेस प्रदेशमा सरदरभन्दा कम र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिएको छ। 

समग्रमा विश्लेषण गर्दा मुलुकभर यो अवधिमा सरदरभन्दा कम वर्षा भएको हो।

मुलुकभर मनसुन अवधिभर १४ सय ७९.७ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा मानिन्छ। अहिलेसम्म सरदर वर्षाको जम्मा २६.४ प्रतिशत मात्रै वर्षा भएको छ। 

जुलाई ११ सम्मको सरदर वर्षा ३९१.३ मिलिमिटर अर्थात् ८५ प्रतिशत भएको छ। यो अवधिमा गत वर्ष ४६०.३ मिलिमिटर वर्षा भएको थियो। 

मनुसुन प्रक्षेपणको विश्लेषण मनसुन अवधिभरलाई गरिने भएकाले अहिले नै निष्कर्षमा पुग्न मिल्दैन। नमूना अनुगमनका वर्षामापन केन्द्रको तथ्यांकहरूका आधारमा यो अवधिमा सरदरभन्दा कम वर्षा भएको भन्न सकिने विभागका प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले बताउँछिन्। 

यसैबीच, मधेस प्रदेश सरकारले असार २६ गते मन्त्रिपरिषद् बैठकबाट मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। मनसुनको समयमा वर्षा नहुँदा धान रोपाईं हुन सकेको छैन। धान रोपिएका खेतमा पािन धाँजा फाट्न थालेपछि सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो। सरकारले विशेष राहत प्याकेजको व्यवस्था गर्न संघीय सरकारसँग माग पनि गरेको छ।