पूर्णिमा राईले पहिलो हाफमै ह्‍याट्रिक गरेपछि बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत शनिबार भइरहेको भुटानसँगको खेलमा नेपालले पहिलो हाफमा फराकिलो अग्रता बनाएको छ। नेपाल पहिलो हाफमा ६-० ले अघि छ।

पूर्णिमाको ३ गोलसँगै मीना देउवाले २ गोल गर्दा एक गोल आत्मघाती भएको थियो। खेलको पहिलो मिनेटमा नै मीनाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

नवौं मिनेटमा समिक्षाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किँदै गोलकिपरलाई लागेर पोस्टभित्र छिरेपछि नेपालको अग्रता दोब्बर भयो।

१२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन्। २३औं मिनेटमा मीनाको पासमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई ४-० को अग्रतामा पुर्‍याइन्।

इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमा राईले हेडर गोल गर्दै अग्रता ५-० मा पुर्‍याइन्। इन्जुरी समयकै अन्तिममा पूर्णिमाले ह्‍याट्रिक पूरा गर्दा नेपाल ६-० ले अघि रह्‍यो।