सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले आर्थिक वर्ष २०८१/८२ मा ६ करोड ९० लाख ३ सय ९२ बराबरको भन्सार छली तथा बिलबिजक नभएका अवैध सामान बरामद गरेको जनाएको छ।

गण अन्तर्गतका सुरक्षा पोस्ट र बिओपीहरूले सो अवधिमा अवैध ओसारपसार नियन्त्रण गर्दै उल्लेखित मूल्य बराबरका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

भन्सार छली गरेर भित्र्याइएका ती अवैध सामग्रीहरू सुनसरीस्थित कोशी ब्यारेज भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताए।

त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ भरिमा मात्र १८ लाख ७५ हजार १३५ मूल्यका बिलबिजक नभएका सामान बरामद गरी राजस्व कार्यालय इटहरीमा बुझाइएको छ। 

साथै, भन्सार छली तथा अवैध ओसारपसारमा संलग्न ६४ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलले पूर्वी नाकामार्फत हुने भन्सार छली, अवैध ओसारपसार तथा लागुऔषध कारोबार नियन्त्रणमा सघन निगरानी बढाएको छ।

सीमामा बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल पूर्ण सतर्क अवस्थामा रहेको जनाउँदै, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तथा सुनसरीका प्रवक्ता सुधिरजंग थापाले संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य तथा समन्वयलाई अझ सुदृढ बनाई सीमा सुरक्षा मजबुत बनाइएको बताए। 

उनले स्थानीय समुदायसँगको सहकार्य गरी थप मजबुत बनाउँदै, स्रोत, साधन, जनशक्ति र प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रणमा जोड दिइने जानकारी दिए।