महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्याको आरोपमा युवतीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको बलवा नगरपालिका वडा नं ७ बनौटाकी २४ वर्षीया जुली झालाई सोमबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

शनिबार राति विमलेशलाई जनकपुरको होटेल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेको आरोप झा माथि छ। विमलेशको आइतबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।

शनिबार राति ९ बजेर ५५ मिनेटमा विमलेश र जुली होटेलभित्र गएको, त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा विमलेश नग्न र रक्ताम्य अवस्थामा होटेलको पहिलो तलाबाट खसेको र लगत्तै जुली तल ओर्लेर भागेको दृश्य सिसिटिभी क्यामेरामा कैद भएको आधारमा प्रहरीले जुलीलाई आइतबार दिउँसो पक्राउ गरेको थियो।