नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुन नमिल्ने निष्कर्ष निकालेको छ।
मङ्गलवार राति सम्पन्न भएको बैठकले पूर्वराष्ट्रपति साझा व्यक्तित्व र देशको अभिभावक भएकाले दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुन मिल्दैन भन्ने निष्कर्ष निकालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
च्यासलस्थित पार्टी मुख्यालयमा सम्पन्न दुई दिने बैठकले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुँदा जनतामा, प्रणालीमा व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर भएको निष्कर्ष निकालेको गौतमले विज्ञप्ति मार्फत जानकारी दिए।
विज्ञप्तिमा लेखिएको छ,‘ मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ। यसले जनतामा, प्रणालीमा व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ। त्यस कारण बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ।’ बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मतिले पारित समेत गरेको छ।