सरकारद्वारा मधेस प्रदेशलाई सुख्खा सङ्कटग्रस्त क्षेत्र घोषणा गरिए लगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अवलम्बन गर्न निर्देशन दिएका छन्।
आइतबार मन्त्रालयमा आयोजना गरिएको आपत्कालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतका सचिवहरू सुरेश आचार्य एवं सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत सहसचिव, उपसचिव तथा प्राविधिकहरूसँग छलफल गर्दै मधेस प्रदेशका आठ जिल्लामा सिँचाइ र खानेपानीको समस्या समाधानमा केन्द्रित हुन स्पष्ट निर्देशन दिएका हुन्।
‘कागजी प्रक्रिया, टेन्डर झन्झट, खरिद प्रणालीको जटिलताभन्दा माथि उठेर, जुनसुकै कानुनी विकल्प प्रयोग गरेर भएपनि जनतालाई तत्काल राहत दिनुस्,’मन्त्री खड्काले भने, ‘जनताको खेत सुक्दै छन्, गाग्री रित्तिँदै छन्, अब मन्त्रालयको कुनै पनि इकाई निष्क्रिय भएर बस्न मिल्दैन।’ उनले सिँचाइका लागि डिप बोरिङ, सोलार पम्प, अस्थायी मोटर सेट तथा पाइपलाइन बिछ्याउनेजस्ता उपाय तत्काल सुरु गर्न निर्देशन दिए।
साथै, खेतमा ढिलो रोपाइँ गर्नुपरे पनि कम पानीमा उच्च उत्पादन दिन सक्ने उन्नत जातका धानको बीउ तथा आवश्यक कृषि उपकरणहरू समेत किसानसम्म पु¥याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।