संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय बनाउन आवश्यक रहेको बताएका छन्। 
बिहीबार राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा पर्यटन मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा भएको छलफलमा उनले दुर्घटना जाँच सम्बन्धी ऐनकोपनि ड्राफ्ट तयार हुँदै गरेको जानकारी दिए। 
मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्रको सुधाका लागि समग्र अध्ययन गर्ने गरी अध्ययन समिति बनेको पनि जानकारी दिए।
उनले भने,‘जहाज दुर्घटनाका सन्दर्भमा स्थायी खालको दुर्घटनासँग सम्बन्धी एउटा निकाय चाहिने रहेछ। एउटाले आयो अध्ययन गरी छानबिन गरेर प्रतिवेदन दियो। अर्को दुर्घटनाको बेला यो सबै सम्झना पनि रहँदैन। त्यसैले एउटा दुर्घटना जाँच सम्बन्धी ऐन पनि ड्राफ्ट हुँदैछ। 
स्थायी निकाय बनाउँछौ, त्यसैले काम गर्छ। नेपालको नागरिक उड्डयन क्षेत्रको सुधाको लागि समग्र अध्ययन गर्ने गरी अध्ययन समिति बनेको छ।’ त्यस्तै मन्त्री पाण्डेले देवघाट, कालिगण्डकीको सभ्यता र इतिहास जोगाउनको लागि चाँडै नेतृत्व चैन गर्ने पनि बताए।
उनले भने,‘देवघाटमा नेतृत्व चैन दुई दिनभित्र नै हुन्छ। नियुक्तिको प्रक्रिया केही ढिलो भएको थियो। त्यो चाँडै टुङ्ग्याउँछौ। त्यसपछि देवघाट, कालिगण्डकीको सभ्यताको परिचय र इतिहास जोगाउने काम हुन्छ।’
उनले गौरवका आयोजनाका केही कामहरू अदालत र  अख्तियारका कारणले रोकिएको बताउँदै देशको विकासको गतिलाई रोकेर नभई अगाडि बढाउँदै समन्वयात्मक ढङ्गले काम गर्नु अहिलेको आवश्यकता रहेको धारणा राखे।