प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तानको अवाजा सहर प्रस्थान गर्दैछन्।

उनले साउन २० देखि २३ गतेसम्म हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन्।

उक्त सम्मेलन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा आयोजना हुँदैछ।

सम्मेलनमा ओलीले विश्वव्यापी समन्वय ब्युरो अध्यक्षका रूपमा सम्बोधन गर्ने र उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीसँगै श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री लगायत उच्च अधिकारी टोलीमा छन्। ओली साउन २३ गते स्वदेश फर्कने छन्। यसअघि यो सम्मेलन सन् २०१४ मा भियनामा र सन् २००३ मा कजाकस्तानको अल्माटीमा भएको थियो।

सम्मेलनले समुद्रमा पहुँच नभएका ३२ भूपरिवेष्टित राष्ट्रबिच सहकार्य गर्दै यातायात, खाद्यान्न र पूर्वाधार अभाव जस्ता साझा चुनौती समाधान गर्ने उद्देश्य लिएको छ।

यसअघि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सम्मेलनमा नेतृत्व गर्ने भनिए पनि अन्ततः प्रधानमन्त्री ओली स्वयं सहभागी हुने निर्णय भएको हो।

प्रधानमन्त्रीले शनिवार राष्ट्रपति पौडेललाई भ्रमणबारे जानकारी गराएका थिए। सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न प्रधानमन्त्रीको सहभागिता महत्त्वपूर्ण हुने सरकारी अधिकारीहरूले बताएका छन्।