लगातारको वर्षापछि झापाका विभिन्न क्षेत्र बाढीको उच्च जोखिममा परेका छन्। पछिल्लो २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा १२९ मिलिमिटरसम्म वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कनकाई नगरपालिकाका तटीय बस्तीमा खतरा बढाएको छ।

बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा, कचनकवल–५ को पिनडालबारी, झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज–५ को कुञ्जीबारीमा जडान गरिएका साइरन बज्न थालेपछि जोखिम क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। स्थानीय तहले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै उद्धार तथा राहतको पूर्वतयारी तीव्र पारेको छ।

बाढी विज्ञहरूले नदी छेउका कचनकवल, झापा, बारदशी, गौरीगञ्ज, कनकाई क्षेत्रका नागरिकलाई सतर्क रहन, सामान सुरक्षित राख्न र आवश्यक परेमा सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। मौसम विभागले आगामी दिनमा पनि भारी वर्षा हुनसक्ने चेतावनी दिँदै जोखिम क्षेत्रका नागरिकलाई थप सतर्क रहन आग्रह गरेको छ।