कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पि स्किन रोगको महामारी फैलिएको छ।
कोशी प्रदेशको ओखलढुंगा जिल्लामा पनि ७ वटा गाईगोरुमा लम्पि स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो।
पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २८ हजार २ सय ५९ वटा गाइगोरु र राँगा भैसीमा लम्पिस्किन रोग पाइएकोमा ९ सय ८९ वटा पशुचौपाया मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ।
लम्पिस्किन रोग विरुद्धको खोप लगाएका पशुचौपायाहरुमा यो रोगको प्रभाव कम देखिएको र मुख्यरुपमा लम्पिस्किन रोग लागेका बाछाबाच्छी र पाडापाडीहरु बढी मरेको पशु चिकित्सकहरूले बताएका छन्।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले लम्पिस्किन रोग विरुद्धको खोप सम्बन्धित कृषि ज्ञान केन्द्र मार्फत पालिकाहरूलाई वितरण गरेको छ।
कोशी प्रदेशमा ३ लाख ७२ हजार ८ सय ४ वटा पशुचौपायाहरुलाई खोप लगाइएकोमा २५ हजार ४ सय २४ वटा पशुचौपायाहरु निको भएको र १ हजार ८ सय ४६ वटा पशुचौपायाहरु संक्रमित रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले जानकारी दिए।

कोशी प्रदेशमा १३ लाख २४ हजार ४ सय २६ वटा गाइगोरु र ३ लाख ७४ हजार ५ सय ६७ वटा राँगाभैसी रहेको तथ्यांक छ। कोशी प्रदेशमा सबैभन्दा बढी झापा, त्यसपछि मोरङ, त्यसपछि इलाम, सुनसरी र उदयपुर जिल्लामा लम्पिस्किन रोगको संक्रमण देखिएको छ।
लम्पिस्किन रोगको संक्रमण फैलिनबाट जोगाउन गोठहरु सरसफाई गर्ने तथा पशु प्राविधिकहरूको सल्लाह मान्न कृषकहरुलाई पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले आग्रह गरेको छ।