सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई अनुबन्ध गरेको छ।

नोभेम्बर १७ बाट सुरु हुने एनपीएलको दोस्रो संस्करणका लागि अनुबन्धन हुने उनी पहिलो विदेशी खेलाडी हुन्। 

माथिल्लो क्रममा ब्याटिङ गर्ने लिनले अष्ट्रेलियाबाट १८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र ४ एक दिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। लिनले टी २० संरचनामा कुल २ सय ९३ खेल खेल्दै १४३ माथिको स्ट्राइक रेटमा ८ हजारभन्दा बढी रन बनाएका छन्। उनले इन्डियन प्रिमियर लिगसहित विश्वका धेरै फ्रेन्चाइज लिग खेलिसकेका छन्।

‘बिग बास लिगमा प्रतिष्ठा कमाएका अष्ट्रेलियन खेलाडीलाई पहिलो संस्करणदेखि नै हाम्रो योजनामा राखेका थियौँ। क्रिस लिन टिममा सामेल भएकोमा हामी निकै खुसी छौँ र उनको आगमनले टिमलाई अझै मजबुत बनाउनका साथै नेपाल प्रिमियर लिगको प्रतिष्ठा बढाउनेमा विश्वास गर्छौँ,’ सुदुरपश्चिमको विज्ञप्तिमा टोलीका मालिक स्वतन्त्र प्रताप शाहले भनेका छन्।’

लिनले अस्ट्रेलियाको बिग बासमा १ सय २७ खेलमा झन्डै १५० को स्ट्राइक रेटमा सबैभन्दा बढी ३ हजार ९ सय ५५ रन बनाएका छन्। सर्वाधिक रन बनाउने सूचीमा उनीपछि एरोन फिन्च, ग्लेन म्याक्सवेल रहेका छन्। साथै बिग बासमा उनले २ सय २० छक्का प्रहार गरेका छन्। उनको पछि रहेका म्याक्सवेलले १ सय ४९ छक्का प्रहार गरेका छन्।

‘म नेपाल प्रिमियर लिगमा खेल्न पाउँदा निकै उत्साहित छु। यहाँका क्रिकेटप्रेमीहरूको अगाडि र प्रतिभाशाली खेलाडीहरूको समूहसँगै खेल्न पाउनु रोमाञ्चक हुनेछ,’ लिनले भनेका छन्। सुदुरपश्चिम पहिलो संस्करणको एनपीएलको उपविजेता टोली हो। टोली फाइनलमा जनकपुर बोल्टससँग पराजित भएको थियो।