सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधन र राष्ट्रिय सम्पत्तिको क्षतिप्रति नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले गहिरो दुःख व्यक्त गरेको छ।
सङ्घका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
विज्ञप्तिमा युवा पुस्ताले उठाएका मागप्रति संवेदनशील रहँदै देशमा शान्ति–सुरक्षा, नागरिक सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता, भ्रष्टाचारमुक्त प्रणाली, लगानी तथा रोजगारी प्रवर्द्धनका लागि सबै सरोकारवालालाई एकताबद्ध हुन आह्वान गरिएको छ।
सङ्घले देशको शान्ति, स्थिरता र आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली सेनाको नेतृत्व र संयोजनमा अगाडि बढ्ने समन्वयात्मक कार्यमा सहयोग गर्ने जनाएको छ।
यस कठिन परिस्थितिमा उत्पादन, रोजगारी, लगानी र बजार सन्तुलनलाई प्राथमिकता दिँदै देशको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन नेपाली सेना, निजी क्षेत्र, उद्योगी व्यवसायी तथा नागरिक समाजसँग मिलेर काम गर्ने सङ्घको प्रतिबद्धता समेत विज्ञप्तिमा व्यक्त गरिएको छ।