नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले जेनजी विद्रोहपछि देखिएको आवेग र सम्भावित प्रतिशोधप्रति चिन्ता व्यक्त गरको छन्।

प्रेस नोट सार्वजनिक गर्दै उनले स्वयं बन्न सबै पक्षसँग आग्रह गरेका छन्। ‘अग्रज र नौजवान साथीहरूलाई फेरि पनि भन्छु– अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौं’, सुहाङको अपिल छ।

सँगै, जेनजीहरू आफ्नै सन्तानहरू भएकाले उनीहरूको भावनालाई सम्मान गरेर जानुपर्ने उनको मत छ।

‘आफ्नो अस्तित्व र अधिकारको निम्ति सडकमा आएका जेनजीहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरूलाई गाली गर्नु हो,’ उनले लेखेका छन्, ‘आफ्नै सन्ततीहरूलाई गाली गर्नेहरू जिम्मेवार अभिभावक बन्नै सक्दैनन्।’

जेनजी विद्रोह हुने परिस्थितिसम्मको गल्तीमा आफ्नो भागको जिम्मेवारी लिने पनि नेम्वाङले लेखेका छन्। ‘‘यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला। यदि रह्यो भने मेरो भागमा कति पर्छ कुन्नी ? यो कमजोरी र नालायकीप्रति म माफी माग्छु,’ उनले भनेका छन्, ‘गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ। जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो।’