इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन्। इजरायली सेना आईडीएफका एक अधिकारीले विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्।

ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले बताए।

राजदूत पण्डितले भने, ‘आईडीएफका अधिकारीले हामीलाई विपिन 'ईज नो मोर' भने।

अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ। आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए। हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए।

सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए। तर त्यसपछि उनको अवस्था अज्ञात थियो। गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो।

विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए। त्यसपछि अहिले उनीहरु अमेरिकामा छन्।