हमासको कब्जामै मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा ल्याइपुर्याइएको छ। इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव ल्याइपुर्याइएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।
उनका अनुसार अमेरिकामा रहेका विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल बोलाएर शव हस्तान्तरणको तयारी गरिएको छ।
“हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझायो। रेडक्रसले विपिनसहित चारजनाको शव इजरायली सेनालाई बुझायो,” पण्डितले भने, “तेल अभिभमा रहेको इजरायली सेनाको अस्पतालमा विपिनको शव राखिएको छ। डीएनए परीक्षण गरिँदैछ। त्यसपछि परिवारलाई बोलाएर शव सुम्पिने प्रक्रिया अघि बढाइनेछ।”
परिवारको जिम्मा लगाएपछि विपिनको शव नेपाल ल्याउने तयारी गरिने छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजिप्टको सहर शर्म अल–शेखमा गाजा शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्।
ट्रम्पले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सीसीसँग मिलेर यो सम्मेलनको नेतृत्व गरेका थिए। विश्वका २० भन्दा बढी देशका नेताहरू त्यहाँ उपस्थित भए पनि इजरायल र हमासलाई भने आमन्त्रित गरिएको थिएन।

ट्रम्पले आफ्नो टोलीको प्रशंसा गर्दै आफूले यो सबैभन्दा कठिन काम हुने सोचे पनि शानदार टोली र यी देशहरूको सहयोगमा यो सम्पन्न भएको बताए।
शान्ति प्रस्तावमा हस्ताक्षर गरेपछि ट्रम्पले सम्झौताको अन्तिम पृष्ठ प्रेसलाई देखाए। उक्त पृष्ठको माथिल्लो भागमा प्रत्येक व्यक्तिले सम्मान, शान्ति र समान अवसर पाउनुपर्ने लेखिएको थियो।
यसअघि, ट्रम्पले इजरायली संसदसमक्ष बोल्दै यसलाई नयाँ मध्य पूर्वको ऐतिहासिक बिहानी भनेका थिए। हमासले गएराति इजरायललाई चार बन्धकको शव फिर्ता गरेको हो। त्यसमध्येका एक हुन् विपिन जोशी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशी कृषि अध्ययनरत विद्यार्थी थिए ।
उनी लर्न एन्ड अर्न कार्यक्रम अन्तगर्त सन् २०२३ मा इजरायल पुगेका थिए। उनी इजरायल र गाजा सीमा क्षेत्रको किबुज अलुमिम क्षेत्रमा थिए। सोही स्थानबाट ७ अक्टोबर २०२३ मा अपहरण गरिएको थियो । विपिनसहित गाई इलौज, योसी शाराबी र ड्यानियल पेरेजको शव पनि हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको हो।
यसअघि, हमासले दिउँसो सबै २० इजरायली बन्धकहरूलाई रिहा गरेको थियो। उनीहरूलाई दुई समूहमा छोडिएको थियो। अब हमाससँग कुनै पनि जीवित इजरायली बन्धक नरहेको बताइएको छ। यसको बदलामा इजरायलले हालसम्म २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिसकेको छ।
इजरायलका विभिन्न अस्पतालहरूमा रिहा गरिएका बन्धकहरू आफ्ना परिवारसँग पुनर्मिलन हुँदा वेस्ट बैंक र गाजापट्टीमा मुक्त भएका प्यालेस्टिनी कैदीहरूले आफन्तहरूलाई भेट्दा भावनात्मक दृश्यहरू देखा परेका छन्।