प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दबाब दिइरहेको भन्ने समाचारहरू भ्रमपूर्ण भएको स्पष्ट गरेको छ।

सचिवालयले आज एक विज्ञप्ति मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण भएको जनाउँदै मन्त्री बनाउने वा हटाउने अधिकार प्रधानमन्त्रीकै कार्यक्षेत्रमा पर्ने बताइएको छ। विज्ञप्तिमा भनिएको छ, “कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन।”

विज्ञप्तिमा गृहमन्त्री अर्याल जेनजी आन्दोलनबाट प्राप्त जनादेश अनुसार बनेको सरकारका जिम्मेवार सदस्य भएको उल्लेख गर्दै, उनले आगामी निर्वाचनका लागि आवश्यक वातावरण बनाउन, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहेको बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयले यस्ता संवेदनशील समयमा अफवाह नफैलाउन र त्यस्ता भ्रमपूर्ण विवरणमा विश्वास नगर्न सबै पक्षलाई आग्रह गरेको छ।

प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।”