नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जेनजी आन्दोलनका क्रममा नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताएका छन्।
प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जेनजी आन्दोलनमा घुसपैठ गरी न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताएका हुन्।
आन्दोलनका नाममा न्यायालयमाथि आक्रमण हुनु सामान्य घटना नभएको उनको भनाइ छ। महासचिव पोखरेलले जेनजी आन्दोलनमा उठाइएका माग जायज भए पनि राष्ट्र विरोधी स्वार्थी तत्त्वले घुसपैठ गरेका कारण ठुलो जनधनको क्षति भएको जिकिर गरे।
उनले वर्तमान सरकारले गैरसरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाउनु संविधान विपरीत भएको टिप्पणी गरे।
आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावलाई समेत असर पुर्याउन सक्ने बताए।
जेनजी आन्दोलनको छानबिनका लागि बनेको आयोगका पदाधिकारीले आन्दोलनकारीलाई उकास्ने काम गरिसकेकाले निष्पक्ष छानबिन नहुने उनले बताए। गौरीबहादुर कार्कीले नैतिक हिसाबले राजीनामा दिनुपर्ने उनको तर्क छ।




















