नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा फ्री वाईफाई सेवा सुरु गरेको छ।
टेलिकमले कात्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यो कार्यक्रम शुभारम्भ गरेको हो।
नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा इन्टरनेट सेवाको शुभारम्भ गरे।
टेलिकमका अनुसार उक्त फ्री वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भीआईपी लाउन्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरूमा रहेको छ।
देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरूमा सर्वसाधारण यात्रुलक्षित फ्री इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो।
सेवाको कभरेज रहेको स्थानमा एसएसआईडी ‘एनटी-क्यान निःशुल्क वाइफाइ’ भएको वाईफाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी निःशुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।




















