विराटनगरबाट काठमाडौँका लागि उडेको श्री एयरको जहाज खराब मौसमका कारण पुनः विराटनगर फर्किएको छ।
बिहानैदेखि पानी परेको साथै भिजिबिलिटीसमेत कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ।
सोहीक्रममा विराटनगरबाट काठमाडौँका लागि उडेको श्री एयरको फ्लाइट नम्बर ७३२ को जहाज काठमाडौँ अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटपछि पुनः विराटनगर एयरपोर्ट फर्किएको हो। श्री एयरको विराटनगर-काठमाडौँ उडान समय सामान्यतया २५ देखि ३० मिनेट हो।
त्रिभुवन विमानस्थलकाले प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको बताएको छ। पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ। भैरहवाबाट काठमाडौँ उडेको जहाज पनि उतै फर्किएको छ।
अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ।




















