झापाको मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामदायिक वनभित्र आज बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ।
मेची राजमार्ग अन्तर्गतको चारआली–चन्द्रगढी खण्डको सडकबाट २०० मिटर टाढा जङ्गलभित्र कार पूर्णरुपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए।
कार आगजनीबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए। कारको नम्बर प्लेटसमेत जलेको जनाइएको छ। उनले भने, ‘जलिरहेको अवस्थामा कार फेला परेको छ, कसले कारमा आगजनी गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’
आगजनीमा परेको कारलाई सडकबाट जङ्गलभित्र लैजाँदै गरेको स्थानीयले देखेको र केहीबेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताए।
चालकले नै वनभित्र लगेर कारमा आगो लगाएको हुनसक्ने स्थानीयले आशङ्का गरेका छन्। आगजनीपछि कार चालक फरार भएका छन्। स्थानीयले खबर गरेपछि प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो।




















