हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा गएराति भएको आगलागीबाट रु. दुई करोड बढीका संरचना जलेर क्षति पुगेको छ। अदानचुली–३ मा रहेको सो विद्यालयमा गएराति माथिल्लो तलाको झ्यालबाट आगलागी सुरु भएको थियो।

अगालागीबाट विद्यालयको दुई तले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ। विद्यालयको मुख्य प्रवेशद्वारसहित कक्षा कोठा तथा माथिल्लो तलामा रहेको कार्यालय कोठासमेत जलेर नष्ट भएको विद्यालयका शिक्षक नन्द फडेराले बताए। उनका अनुसार कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्ताबेज जलेर नष्ट भएका छन्।

कार्यालय कोठामा भएका सोलार एक थान, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, चार थान दराज, २० थान कुर्ची, तीन थान मादल, हार्मोनियम, क्यासियो, ड्रमसेट, २०५२ सालदेखिका कागजात र दस्तावेजलगायत कक्षा कोठाका डेस्कबेञ्च, प्रिन्टरलगायत सामग्री जलेर नष्ट भएका शिक्षक फडेराले बताए। उनका अनुसार भौतिक संरचनासहित रु. दुई करोड बराबरको सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ।

विद्यालय नजिक बस्ती समेत नरहेकाले अज्ञात समूहले नियोजित रूपमा आगलागी गरेको हुनसक्ने आशंक्षा गरिएको विद्यालयका शिक्षक जमानसिंह परियारले बताए। आगलागी भएको समयमा कार्यालय कोठाको ढोका खुल्ला रहेको पाइएको उनको भनाइ छ। उनका अनुसार विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन हुने गरेको छ।