झापाको शिवसताक्षी नगरपालिका–१ का २१ वर्षीय आशिष खनालको इन्टरनेट केबल जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुभाष केसीका अनुसार खनाल फर्स्ट लिङ्क इन्टरनेट नामक निजी इन्टरनेट सेवा प्रदायक कम्पनीमा कार्यरत थिए। कार्तिक ११ गते पोलमा इन्टरनेट केबल टाँग्ने क्रममा उनलाई उच्च भोल्टेजको तारबाट करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका खनाललाई तत्कालै दमकस्थित आम्दा अस्पताल लगिएको थियो। सामान्य उपचारपछि विराटनगरको नोबेल मेडिकल कलेजमा रेफर गरिएको थियो। नोबेलमा भेन्टिलेटरमा राखी उपचार भइरहेको अवस्थामा स्वास्थ्य अवस्था अत्यन्त जटिल भएपछि उनलाई घर फर्काउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीले मुचुल्का सङ्कलन गरी शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ। मृतक खनाल शिवसताक्षीका चर्चित पण्डित आचार्य गोकुल खनालका कान्छा छोरा हुन्।




















