नेकपा (माओवादी केन्द्र) सहितका दलसँगको एकता अस्वीकार गरेकी एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन्। नेपालले माओवादी केन्द्रसहितका वाम दलसँग एकता गरेपछि असहमति जनाएपछि अध्यक्ष नेपालले उनलाई कारबाही गरेका थिए।
सोही कारबाहीको प्रतिक्रिया स्वरूप झाँक्रीले शुक्रवार आफ्नो फेसबुकमा व्यङ्ग्यपूर्ण स्ट्याटस लेखेकी छिन्। उनले लेखेकी छन्, 'प्रिय कमरेड माधव, अभिवादन ! आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र? 'उनले नेता नेपाल सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख भएका पनि उल्लेख गरेकी छन्। उनले नेता नेपाल जहाँ भए पनि आफूले सधैँ अभिभावकका रूपमा सम्झने जनाएकी छन्। 'बाँकी जीवन सुखद होस्, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना,' झाँक्रीले लेखेकी छन्, 'तपाईं जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झनेछु।'
नेपाली कम्युनिस्ट पार्टीमा समाहित नभएका झाँक्रीसहित केही नेता नेकपा (एमाले) मा फर्कने तयारीमा छन्।




















