नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आफ्ताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित परेको छ। 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै ३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो।

यस्तै, कांग्रेसले कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार आजको बैठकले भोलि (आइतबार) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। 

यस्तै, १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय भएको उनले जानकारी दिए।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहट जिल्लाका पूर्वसभापति ६३ वर्षीय मोहम्मद अफ्ताव आलमको गएराति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।​