नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको क्रियाशील सदस्यता वितरणमा गम्भीर त्रुटि देखिएको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले सिरियल नम्बर नै नभएका सदस्यता फारमहरू वितरण गरिएकाले तोकिएको मितिमै महाधिवेशन हुन कठिन हुनसक्ने संकेत गरेका छन् । 

मोरङ लगायतका जिल्लामा आधिकारिक सिरियल नम्बर नभएका क्रियाशील सदस्यता फारमहरू भरिएको गुनासो आएको उल्लेख गर्दै कोइरालाले भने ‘सिरियल नम्बर नभएको क्रियाशील सदस्यता स्वीकार्य हुँदैन भनेर हामीले सभापतिजीलाई भनिसकेका छौँ। ती सदस्यता क्यान्सिल भएका छन्। अब नयाँ सिरियल नम्बरसहितका फारम गाउँ–गाउँ (डोल्पा, बाजुरा, बझाङ जस्ता ठाउँ) सम्म पुर्‍याएर भराउँदा समय लाग्ने हुँदा महाधिवेशनको कार्यतालिका केही प्रभावित हुन सक्छ।’

उनले पार्टीको महाधिवेशन समयमै होस् भन्ने चाहना हुँदाहुँदै पनि प्राविधिक त्रुटि सच्याउन समय लाग्ने बताए। ‘अहिले नै मिति सर्छ भनेर नसोचौँ, तर प्रक्रियागत ढिलाइले असर गर्न सक्छ,’ उनले भने।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे बोल्दै नेता कोइरालाले नेपाली कांग्रेस फागुन २१ गतेका लागि तोकिएको चुनावमा जान तयार रहेको बताए। तर, यदि तोकिएको मितिमा चुनाव हुन नसके संसद पुनर्स्थापनाको माग स्वतः अगाडि बढ्ने उनको भनाइ छ।

‘संविधान डिरेल भएको छ, अहिले बनेको सरकार संविधानसम्मत होइन,’ कोइरालाले भने, ‘यदि चुनाव हुँदैन भने संसद पुनर्स्थापना भएर देश अगाडि बढ्नुपर्छ। तर कांग्रेसको बटमलाइन फागुन २१ मा चुनाव हुनैपर्छ भन्ने हो।’

पार्टीका सांसदहरूले व्यक्तिगत स्वतन्त्रता प्रयोग गरेर संसद पुनर्स्थापनाको पक्षमा सडकमा जानुलाई अन्यथा लिन नहुने भन्दै उनले कांग्रेस उदार लोकतान्त्रिक पार्टी भएकाले विचार राख्ने स्वतन्त्रता सबैलाई भएको प्रष्ट पारे।

आगामी महाधिवेशनमा कोइराला परिवारबाट सभापतिको उम्मेदवार को बन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा डा. कोइरालाले यस विषयमा धेरै चिन्ता नलिन आग्रह गरे।

‘हाम्रै पार्टीका साथीहरू र प्रेसका साथीहरूलाई किन यति धेरै चिन्ता लागेको हो?’ ठट्टा गर्दै उनले भने, ‘हामी घुम्दै छौँ, सल्लाह गर्दै छौँ। समय आएपछि उम्मेदवारी घोषणा गर्छौँ। अहिले नै को उठ्छ भनेर चिन्ता गरिहाल्नु पर्दैन।’

उनले महाधिवेशन लोकतन्त्रको उत्सव भएको बताउँदै समय आएपछि साझा धारणा वा उम्मेदवारीबारे जानकारी दिइने बताए