झापाको कमल गाउँपालिकामा बेवारिसे अवस्थामा एउटा हतियार फेला परेको छ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको ‘ग्यासगन’ आइतबार बिहान गेउरीय खोलाको किनारमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आइतबार बिहान साढे ६ बजेको समयमा कमल गाउँपालिका–५ स्थित धन प्रसाद मार्ग नजिकै रहेको गेउरीय खोला किनारमा हतियार रहेको विशेष सूचना प्राप्त भएको थियो।
सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेर हतियार नियन्त्रणमा लिएको हो।
प्रहरीले २३८१६९ नम्बरको एक थान ग्यासगन फेला पारेको हो। फेला परेको हतियारको बट र नाल जलेको तथा खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अभिलेख अनुसार उक्त हतियार गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले लुटेका थिए। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीबाट आन्दोलनकारीले उक्त ग्यासगन खोसेर लगेका थिए।
हतियार कसले र कुन उद्देश्यले त्यहाँ छाडेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















