विराटनगर महानगरपालिका–१४ मा मंगलबार राति स्कुटर दुर्घटना हुँदा भारत अररियाका एक जना युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

विराटनगर–१४ मा रहेको देउराली होटल अगाडि भारतीय नम्बर प्लेटको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको बीआर ३८ एम ११७८ नम्बरको स्कुटर राति करिब १०ः३० बजेतिर सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। 

दुर्घटनामा स्कुटर चालक भारतको अररिया जिल्लास्थित छोटी मस्जिदका २५ वर्षीय मोहमद राजाको मृत्यु भएको उनले बताए। न्यौपानेका अनुसार दुर्घटनामा स्कुटर चालक राजा र पछाडि सवार सोही स्थानका २० वर्षीय मोहमद इमरान गम्भीर घाइते भएका थिए। 

घटनापछि तत्कालै उद्धार गरी उनीहरूलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मोहमद राजालाई मृत घोषणा गरेका थिए।

घाइते मोहमद इमरानको कोशी अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनामा परेको स्कुटर इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ।

इन्स्पेक्टर कविन राईको नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ। स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।