गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारको मुख्य लक्ष्य सुशासन कायम गर्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेको बताएका छन्। कोशी प्रदेश स्तरीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकारपूर्ण रूपमा केन्द्रित रहेको स्पष्ट पारे।
बैठकमा बोल्दै गृहमन्त्री अर्यालले निर्वाचन र सुशासन एकअर्काका पूरक रहेको उल्लेख गरे।'निर्वाचन विना सुशासन कायम गर्न सकिँदैन,'उनले भने,'शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाएर धाँधलीरहित र निष्पक्ष वातावरणमा तोकिएकै मितिमा चुनाव गराउन सरकार दृढ भएर लागेको छ।'
सुरक्षा चुनौतीहरूका सम्बन्धमा बोल्दै गृहमन्त्रीले देशमा केही सुरक्षा चुनौतीहरू विद्यमान रहेको स्वीकार गरेका छन्। ती चुनौतीहरूलाई सूक्ष्म रूपमा अध्ययन र मध्यनजर गर्दै समाधान गरिने उनको भनाइ थियो। उनले शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने बताए।
'सुरक्षा निकायको मनोबल घट्दा त्यसको नकारात्मक असर सबै क्षेत्रमा पर्छ,' गृहमन्त्री अर्यालले भने,'त्यसैले सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्दै व्यावसायिक ढङ्गले काम गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ।'
कोशी प्रदेशको सुरक्षा अवस्थाको समीक्षा गर्न आयोजित उक्त बैठकमा गृह प्रशासन र सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा प्रदेशको वर्तमान सुरक्षा अवस्था, आगामी निर्वाचनको तयारी र सुरक्षा रणनीतिका विषयमा विस्तृत छलफलहुने जनाइएको छ।




















