सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको घटनाको छानबिनका लागि प्रहरीले सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारसँग सोधपुछ गरिरहेको छ।

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई बिहीबार नै बोलाएर प्रहरीले सोधपुछ गरिरहेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हवल्दार खतिवडा बिहीबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा छन्। उनीसँग सोधपुछ चलिरहेको छ।

बुधबार मध्यराति प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका-१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो। लौकही नाकाबाट तीन वटा अटो रिक्सामा चिनी लिएर आएको समूहलाई सशस्त्रले गोली हानेको थियो।

सोही क्रममा साहको मृत्यु भएको हो। सशस्त्र प्रहरीले भने तस्करको समूहले पहिला गोली हानेको र जवाफी कारबाही गर्दा दुर्घटना भएको दाबी गर्दै आएको छ। घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।