मोरङको बेलबारीमा आफ्नै सासु र ससुरालाई खानामा मुसा मार्ने विषादी मिसाएर हत्या गरेको अभियोगमा पक्राउ परेकी बुहारी सुनिता कार्कीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार पठाएको छ।

बेलबारी नगरपालिका–२, सिंहदेवी टोलकी सुनिताले पकाएर राखिएको तरकारीमा विषादी मिसाइदिँदा ७७ वर्षीया सासु इन्द्रमाया राईको मृत्यु भएको थियो भने ७० वर्षीय ससुरा भक्तबहादुर राई गम्भीर घाइते भएका थिए। अदालतले बिहीबार थुनछेक बहसपछि सुनितालाई मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि जेल पठाउने आदेश दिएको हो। 

घटनाको सुरुवात गत मंसिर २० गते भएको थियो। सो दिन बिहान करिब ८ देखि ९ बजेको समयमा सुनिताले आफ्ना सासु–ससुराले पकाएर ग्वालीमा रहेको चुलोमाथि राखेको तरकारीको कराईमा मुसा मार्ने विषादी मिसाएकी थिइन्। तरकारीमा विषादी मिसाएपछि उनी माइती घर गोठगाउँ गएकी थिइन्। दिउँसो सासु र ससुराले त्यही विषादीयुक्त तरकारीसँग खाना खाएपछि उनीहरू बिरामी परेका थिए। ससुरा भक्तबहादुर सुँगुरलाई चारो खोज्न जाँदा बाटोमै वान्ता गर्दै बेहोस अवस्थामा फेला परेका थिए भने सासु इन्द्रमाया पनि घरमै अचेत अवस्थामा भेटिएकी थिइन्। उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा सोही रात सासु इन्द्रमायाको मृत्यु भएको थियो। ससुरा भक्तबहादुरको भने उपचारपश्चात् ज्यान जोगिन सफल भएको छ।

प्रहरी अनुसन्धान र अदालतमा दिएको बयानका क्रममा सुनिताले आफूले सासु–ससुरालाई मार्ने नै उद्देश्यले नभई उनीहरू बिरामी परुन् र खर्च होस् भन्ने उद्देश्यले विषादी हालेको दाबी गरेकी छिन्। 

सुनिताका अनुसार भोजपुरको आरुबोटेका प्रसान राईसँग २०७१ सालमा प्रेम विवाह गरेपछि उनीहरूका दुई सन्तान भएका थिए। पति वैदेशिक रोजगारीमा गएपछि उनी पहाडबाट तराई झरेकी थिइन्। निःसन्तान रहेका बडा ससुरा भक्तबहादुरले हाम्रो कोही छैन, तिमीहरू यतै आएर बस भनेपछि सुनिता आफ्नो परिवारसहित उनीहरूकै घरमा बस्न थालेकी थिइन्। सुरुका केही महिना एउटै भान्सामा बसे पनि पछि भक्तबहादुरले अलग हुन भनेपछि उनीहरू बरण्डामा भान्सा बनाएर छुट्टै बस्दै आएका थिए।

विवादको जड यहीँबाट सुरु भएको देखिन्छ। सुनिताले आफ्नो बयानमा उल्लेख गरेअनुसार, भक्तबहादुरले उनलाई बारम्बार घर छाडेर जान दबाब दिने र सानातिना कुरामा घोचपेच गर्ने गर्दथे। यही ‘किचकिच’ र रिसइबीका कारण उनले यस्तो घातक कदम चालेको स्वीकार गरेकी छिन्। उनले बयानमा भनेकी छिन्, ‘ससुराले बारम्बार किचकिच गर्ने र घरबाट निस्किएर जा भन्ने गरेकाले सोही रिसइबी लिई निजहरू बिरामी हुन्, खर्च होस् र दुःख पाउनु भन्ने उद्देश्यले मात्र मैले विषादी हालिदिएकी हुँ। उनीहरूलाई मार्ने मेरो कुनै योजना वा मनसाय थिएन।’ उनले करिब १५ दिनअघि बेलबारी हटियाबाट ४० रुपैयाँमा किनेर ल्याएको मुसा मार्ने सेतो धुलो विषादी तरकारीमा मिसाएको र बाँकी रहेको प्याकेट प्रमाण नष्ट गर्ने उद्देश्यले चुलोमा डढाएको समेत बताएकी छिन्।

तर, घाइते ससुरा भक्तबहादुर राई र अन्य आफन्तहरूको बयान भने सुनिताको भन्दा फरक छ। भक्तबहादुरले जाहेरीमा उल्लेख गरेअनुसार सुनिताले उनीहरूको धनसम्पत्ति हडप्ने नियतले योजनाबद्ध रूपमा हत्याको प्रयास गरेकी हुन्। वृद्ध अवस्थाका सासु–ससुराको मृत्यु भएमा उनीहरूको नाममा रहेको घरजग्गा र सम्पत्ति आफ्नो हुने आशमा सुनिताले यस्तो कृत्य गरेको पीडित पक्षको आरोप छ। छिमेकी र अन्य साक्षीहरूले पनि सुनिताले पहिलेदेखि नै वृद्ध दम्पतीलाई दुःख दिने गरेको बताएका छन्। घटनास्थलमा वान्ता गरिएको ठाउँमा विषादीको कडा गन्ध आएको र सोही खाना खाएका तीनवटा कुखुरा समेत तत्कालै मरेको अवस्थामा फेला परेकाले विषादीको मात्रा निकै घातक रहेको पुष्टि भएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउने क्रममा चुलोको खरानीभित्रबाट विषादीको स्टिल पेपरको पोका फेला पारेको थियो। जसमा कालो धुलोको कण बाँकी थियो। सरकारी वकिलको कार्यालयले सुनितामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूर (हत्या) र दफा १८३ बमोजिम ज्यान मार्ने उद्योग (प्रयास) को अभियोग लगाएको छ। 

अभियोग पत्रमा सुनितालाई जन्मकैदको सजाय र ज्यान मार्ने उद्योग अन्तर्गत थप १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको मागदाबी गरिएको छ। सुनिताले ‘मार्ने उद्देश्य थिएन’ भनेर जिकिर गरे तापनि कानुनतः ज्यान जान सक्छ भन्ने थाहा हुँदाहुँदै विषालु पदार्थ खुवाउनुलाई मनसायपूर्ण हत्याकै रूपमा हेरिने कानुनी आधारहरू रहेका छन्। एकै वारदातमा एकजनाको मृत्यु भएको र अर्का व्यक्ति गम्भीर घाइते भएकाले यसलाई एकीकृत कसूरका रूपमा पनि व्याख्या गरिएको छ। 

हाल सुनिता कारागार चलान भएकी छिन् भने घाइते भक्तबहादुर राई अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेका छन्। अब यो मुद्दाको अन्तिम फैसला जिल्ला अदालत मोरङले गर्नेछ।