यात्रुले जहाजको आपत्कालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै प्रभावित बन्न पुगेको छ। बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज–एन–एएमडी) मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपत्कालीन ढोका खोलेका कारण उक्त उडान ढिलो भएको हो।

यात्रु गौतमलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ। हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको र पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्ने जनाइएको छ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपत्कालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो।