नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पूर्व अध्यक्ष हिरा उदासको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको छ।
स्वर्गीय हिरा उदासले सार्वजनिक यातायात क्षेत्रको बृहत् एकता, समुन्नत विकास र सुधारमा अतुलनीय योगदान पुर्याएको महासंघले जनाएको छ।
विगत पाँच दशकदेखि यातायात क्षेत्रमा क्रियाशील रहँदै भष्म पितामहुका रूपमा चिरपरिचित उनको निधनले यातायात जगतमा अपूरणीय क्षति पुगेको महासंघको शोक वक्तव्यमा उल्लेख छ।
पूर्व अध्यक्षको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले उनको योगदानको स्मरण गर्दै सातवटै प्रदेश कार्यालयमा तीन दिनसम्म आधा झण्डा झुकाउने जनाएको छ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विराटनगरमै राखिने र त्यसपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।



















