राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विवरणअनुसार लामिछानेले निर्वाचन अवधिभर जम्मा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका छन्।
चितवन जिल्ला निर्वाचन कार्यालयमा दर्ता गरिएको खर्च विवरणअनुसार लामिछानेले सबैभन्दा बढी रकम गोष्ठी तथा भेला र खाद्यान्न तथा रासन शीर्षकमा खर्च गरेको देखिन्छ। विवरणमा उल्लेख भएअनुसार गोष्ठी र भेलाका लागि १ लाख ८० हजार र खाद्यान्न खरिदका लागि १ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ।
उम्मेदवारका तर्फबाट प्रतिनिधि सीता ज्ञवालीद्वारा हस्ताक्षरित सो विवरणमा विभिन्न १० वटा शीर्षकमा खर्च देखाइएको छ। जसमध्ये यातायात तथा इन्धनमा २ लाख ९५ हजार, प्रचारप्रसार सामग्री (झण्डा र ब्याज) मा १ लाख १२ हजार र मतदाता प्रशिक्षणका लागि १४ हजार २०० रुपैयाँ खर्च भएको उल्लेख छ।
यस्तै, उम्मेदवारी मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ शुल्क तिरिएको छ भने तीन पटकको हवाई यात्राका लागि १३ हजार ६२६ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।





















