वरिष्ठ सर्जिकल अंकोलोजिस्ट डा. प्रकाशराज न्यौपानेको निधन भएको छ। क्यान्सर रोगबाट पीडित डा.न्यौपानेको आज बिहान पाटल अस्पतालमा निधन भएको उपचारमा संलग्न मेडिकल अंकोलोजिस्ट डा.अरुण शाहीले जानकारी दिए।

डा. शाहीका अनुसार ६४ वर्षीय डा. न्यौपाने विगत एक वर्षदेखि पित्त बग्ने नलीमा हुने एक प्रकारको क्यान्सर ‘कोलान्जिओ कार्सिनोमा’बाट पीडित थिए। करिब एक महिनादेखि उनी अस्पतालमा भर्ना भई उपचाररत थिए। उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो।

डा. न्यौपानेले पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मिर्गौला र छालाको क्यान्सरको शल्यक्रियामा विशेषज्ञता हासिल गरेका थिए। उनले भक्तपुर क्यान्सर अस्पतालको पूर्वमेडिकल डाइरेक्टर र भतरपुरकै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पूर्वअध्यक्ष जिम्मेवारी निर्वाह गरिसकेका थिए।

पछिल्लो समय ग्वार्कोस्थित बीएण्डबी अस्पताल, भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टर र नेपाल अर्वुद रोग निवारण संस्था लगायतमा आवद्ध थिए।