मध्यरातमा गृहमन्त्री सुदन गुरुङले भावुक हुँदै जब डा. सुनिल शर्मालाई अँगालो मारे—त्यो क्षण कुनै एउटा सामान्य भेट नभएर, ठुलो सन्देश थियो। यस्तो सन्देश, जहाँ एकातिर गलत काम गर्नेहरू गिरफ्तार भइरहेका छन्, अर्कोतर्फ असल काम गर्नेहरू बधाई को पात्र बन्दै छन्, अर्थात् कोही गिरफ्तार अनि कोही बधाई को पात्र।
सरकार गठन भएको दिनदेखि नै सुशासन अनि विधिको शासनका लागि भ्रष्टहरूलाई कारबाही गर्न एक्सनमा उत्रिएका गृहमन्त्री सुदन गुरुङ अहिले दिन रात नभनी आफ्नो काममा व्यस्त छन्। उनै गृहमन्त्री गुरुङ बिहीबार मध्यरातमा जेन्जी आन्दोलनका घाइते भेट्न काठमाडौँ मेडिकल कलेज सिनामंगल पुगेका थिए।
काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक डाक्टर शर्मालाई मध्यरातमा गृहमन्त्री सुदन गुरुङले फोन गर्दै सोधे, “कहाँ हुनुहुन्छ ? तपाईँले जेन्जी आन्दोलनका घाइतेको उपचार गर्नुभएको रहेछ, म घाइतेलाई हेर्न तपाईँको अस्पताल आउँदै छु।” त्यो वाक्य सुन्ने बित्तिकै डा. शर्मा गृहमन्त्रीभन्दा पहिले नै अस्पताल पुगे।
केएमसीमा एक सय ५२ जना जेन्जी घाइतेको निःशुल्क उपचार भएको र अहिले पनि त्यहाँ केहीले उपचार गराइरहेको कुरा जब गृहमन्त्रीले थाहा पाए तब उनको मन झनै पग्लियो। त्यसमाथि पनि जेन्जी घाइतेको अवस्था र उनीहरूले पाएको उच्चस्तरीय उपचार देखेपछि गृहमन्त्री गुरुङले अत्यन्तै भावुक भएर आइसियुमै डाक्टर शर्मालाई अँगालो मारे, बधाई अनि धन्यवाद दिए। अत्यन्त भावुक हुँदै गुरुङले भने, “यस्तो सत्कर्मका लागि तपाईँलाई बधाई अनि धन्यवाद।”
गृहमन्त्री गुरुङ जेन्जीका आमाबुबाहरू, जेन्जी घाइतेहरूलाई भेट्दा निकै भावुक हुन्छन् र अँगालो मार्छन्, तर उनी राजनीतिक व्यक्तिहरूलाई कमै मात्र भावनात्मक रूपमा अँगालो मार्ने गर्छन्। तर ती विरलै पर्ने मानिसमध्ये डाक्टर सुनिल शर्मा थिए, जसलाई उनले सम्मानका साथ अङ्कमाल गरेका थिए। यो अँगालो अनि सम्मान गृहमन्त्रीका रूपमा मात्रै नभएर जेन्जी अगुवाका रूपमा पनि थियो।
राम्रो र असल काम गरेपछि नहुने के रहेछ? सुनिल शर्मा यस्ता पात्र हुन् जसले जेन्जी आन्दोलनका क्रममा घाइतेको निःशुल्क उपचार गर्ने घोषणा नेपाल सरकारभन्दा पहिले नै गरेका थिए र एक सय ५२ जना जेन्जी घाइतेको औषधिसहित निःशुल्क उपचार गरेका थिए। त्यही क्रममा अहिलेसम्म पनि केही घाइते केएमसीमा उपचार गराइरहेका छन्। जेन्जीको निःशुल्क उपचार केएमसीले मात्रै होइन, यसको भगिनी संस्था नोबलमा पनि गरिएको थियो।
घाइतेको अत्यन्त राम्रो उपचार भइरहेको देखेपछि गृहमन्त्री गुरुङ निकै खुसी भए र भावुक हुँदै डा. शर्मालाई धन्यवाद दिए। घाइतेसँग स्वास्थ्य अवस्थाबारे सम्पूर्ण जानकारी लिइसकेपछि गृहमन्त्री गुरुङले सन्तोषको लामो श्वास फेरे अनि अस्पतालमा यसअघि उपचार गराइएका घाइतेका बारेमा पनि जानकारी लिए। कुराकानीका क्रममा गृहमन्त्री गुरुङले यस्तो सह्रानीय कार्यका लागि डा. शर्मालाई पटक–पटक धन्यवाद दिए। मन्त्री गुरुङ यतिमै रोकिएनन्, गाडी चढ्ने बेलामा समेत हात मिलाउँदै नतमस्तक हुँदै फेरि धन्यवाद दिए।
अहिले गृहमन्त्री गुरुङ देशमा सुशासन र विधिको शासन कायम गराउन अनि आन्दोलनमा सहादत प्राप्त गर्ने तथा घाइतेलाई न्याय दिलाउन अहोरात्र खटिरहेका छन्। उनको यो खटाइ मध्यरातसम्म पनि जारी छ, र त्यही क्रममा उनी जेन्जी घाइतेको अवस्था बुझ्न केएमसीसम्म आइपुगेका हुन्। त्यहाँ घाइतेले पाइरहेको उपचार देखेपछि उनी धेरै नै खुसी र सन्तुष्ट मात्रै भएनन्, डाक्टर सुनिल शर्माको काम देखेर नतमस्तक र आभारी भए।
चुनाव हारेर पनि मानवीय सेवामा निरन्तर लागिरहेका डाक्टर शर्माको काम देखेर गृहमन्त्री पटक–पटक नतमस्तक भए। चुनाव हार्दा पनि सम्मान र आदर गर्न लायक नेताका रूपमा, राज्यले र स्वयम् गृहमन्त्रीले अस्पतालमै पुगेर यसरी भावुक भएर अँगालो मार्नुलाई सामान्य रूपमा हेरिएको छैन—र हेरिनु पनि हुँदैन, जुन महानता गृहमन्त्री गुरुङले देखाए। खराब नियत र आचरण भएका राजनीतिक व्यक्ति तथा भ्रष्टहरूलाई व्यापक धरपकड तथा कारबाही गरिरहेको समयमा, डाक्टर सुनिल शर्माको कामको सराहना गर्न गृहमन्त्री गुरुङ आफैँ मध्यरात नभनी अस्पताल पुगे।
अहिले पनि जेन्जी आन्दोलनका घाइते सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा विगत एक सय ३३ दिनदेखि काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उच्च निगरानीसहित निःशुल्क उपचार गराइरहेका छन्। उनको उपचारसहित कुरुवाका लागि समेत निःशुल्क खाने–बस्ने व्यवस्था अस्पतालले गरिरहेको छ। त्यसैको प्रतिफल स्वरूप जेन्जी अगुवाले डा. शर्मालाई यसरी मध्यरातमा आएर भावनात्मक अङ्कमाल गरेका हुन्। यसको स्पष्ट सन्देश के हो भने अहिलेको सरकार असल काम गर्नेलाई पुरस्कृत गर्न र गलत काम गर्नेलाई सजाय दिन कुनै घडीको सुईको पर्खाइमा छैन।




















