इटहरी/ विद्यालय जीवनको एउटा महत्त्वपूर्ण खुड्किलो 'एसईई' यति बेला सञ्चालनमा छ। केही दिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई लक्षित गर्दै इटहरीमा सौन्दर्य र बौद्धिकताको सङ्गम ‘मिस एसईई सिजन ६ इटहरी’ आयोजना हुने भएको छ। विद्यार्थीहरूको खाली समयलाई मोबाइल र इन्टरनेटको दुनियाँबाट बाहिर निकालेर उपलब्धिमूलक र सिर्जनात्मक काममा जोड्ने उद्देश्यले 'ओपन स्पेस प्रालि'ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।
यसअघि ५ ओटा संस्करण सफलताका साथ सम्पन्न गरेको आयोजक कम्पनीले छैठौं संस्करणको अडिसन यही चैत २८ गते शनिवार इटहरीस्थित मादेन इन होटलमा गर्ने तय गरेको छ। प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार यो कार्यक्रम ताज पहिरिने प्रतिस्पर्धामा मात्र सीमित रहने छैन, यसलाई विद्यार्थीहरूको प्रतिभा निखार्ने र उच्च शिक्षामा जानुअघि उनीहरूलाई मानसिक रूपले तयार गर्ने एउटा महत्त्वपूर्ण कार्यशालाको रूपमा अघि बढाइनेछ। 
प्रतियोगिता अवधिभर सहभागीहरूले विज्ञहरूबाट विभिन्न जीवनोपयोगी तालिमहरू प्राप्त गर्नेछन्। भोलिको समाज र आफ्नो करियरलाई सही दिशा दिन सक्ने नेतृत्वदायी खुबीको विकास, आफ्नो आन्तरिक र बाह्य व्यक्तित्वलाई आकर्षक र प्रभावशाली बनाउने कलाका साथै हजारौँको भिडमा पनि बिना हिचकिचाहट आफ्ना विचार र तर्कहरू स्पष्टसँग राख्न सक्ने क्षमताको निर्माण गर्नलाई यो कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुर्‍याउने आयोजक कम्पनीका सिइओ सजिना श्रेष्ठ बताउँछिन्।