काठमाडौंबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा हायस र बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा हायसका चालक ललितपुर महानगरपालिका–१५ का ३८ वर्षीय गजबहादुर मगर, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रविण तिवारी तथा ठेगाना नखुलेका प्रशान्त केसी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
यस्तै, दुर्घटनामा घाइते अन्य यात्रुहरूमा झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेकी ९ वर्षीया संस्कृति यादव र ३२ वर्षीया कल्पना राई, मेची नगरपालिका–१३ का ३८ वर्षीय अमेश खड्का, भद्रपुर नगरपालिका–१ का २२ वर्षीय अमृत राना मगर र कचनकवल गाउँपालिका–७ का ४२ वर्षीय दिनप्रसाद सिग्देल रहेका छन्। उनीहरूको स्थानीय आत्मीय सामुदायिक अस्पताल, खाल्टेमा उपचार भइरहेको छ।
बस चालक दोलखाको बैतेश्वर गाउँपालिका–६ का सुमन सुवेदीलाई प्रहरीले नियन्त्रण लिएर दुर्घटनाबारे अनुसन्धान अघि बढाएको छ।




















