सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णय २०८२ चैत २३ गतेदेखि लागू हुनेछ। सोअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिइनेछ।
शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूमा भने कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिने जनाइएको छ। पेट्रोलियम आपूर्तिमा आएको समस्याका कारण सेवा प्रवाहलाई व्यवस्थित बनाउन यो निर्णय गरिएको सरकारले जनाएको छ।
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु :
१. अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टको लागि क्रमश एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
२. दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
३. नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तरगतका निकायहरुको संगठन तथा व्यवस्थापन संरक्षण गर्न पूर्व स्वकृति दिने।
४. राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्री धमेन्द्र झाले दिएको राजीनामा स्वकृति गर्ने।
५. पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने।
६. डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने।
७. आगामी शैक्षिक सत्र २०८३ बैसाख १५ गतेबाट सुरु गर्ने।




















