उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबीच शिष्टाचार भेट गरेका छन्। बिहीबार उपराष्ट्रपतिको कार्यालय, लैनचौरमा उनीहरुबीच भेट गरेका हुन्।

भेटवार्ताका क्रममा उनीहरूबिच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, संघीयता सुदृढीकरण, प्रदेश-सङ्घ समन्वय तथा आपसी सहकार्यका विषयमा विचार-विमर्श भएको बताइएको छ।

उपराष्ट्रपति यादवले प्रदेश प्रमुख खापुङलाई स्वागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि प्रदेश र संघबिचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

प्रदेश प्रमुख खापुङले संघीयता कार्यान्वयनमा प्रदेश स्तरको प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय एकता, समावेशिता र संविधानको मर्मअनुसार प्रदेश सरकारको भूमिकाबारे जानकारी गराए।