नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र शाहजस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन्। 
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुका साथै प्रधानमन्त्रीले आम नागरिकसमक्ष माफी माग्नुपर्ने बताए। 
उनले मुलुकको प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिए। सांसद सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो? भन्दै अध्यक्षमार्फत प्रश्न गरे।
उनले भने, ‘बालेन्द्र साह ज्यू जस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठुलो दुर्भाग्य हो। नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ? नेपाली जनतालाई जानकारी गराउनुपर्छ। अध्यक्ष महोदय मातृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन। हरेक नेपालीको रगतमा देशभक्तिपूर्ण भावना जीवन्त छ। सम्माननीय प्रधानमन्त्रीज्यू तपाईँले संसदमा क्षमा माग्नुपर्छ।’
मुलुकको निर्माण पुर्खाको बलिदान र सङ्घर्षबाट भएको उल्लेख गर्दै उनले राष्ट्र र राष्ट्रियतामाथि कुनै पनि तहबाट आघात पुग्ने अभिव्यक्ति स्वीकार्य नहुने चेतावनी दिए।