सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश व्यापार मन्त्री महामहिम डा. थानी बिन अहमद अल जेयोउदीले शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा सभामुख अर्यालले वर्तमान संसद् गठन भएपछि युएईको तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै भ्रमणले नेपाल–युएई सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र सहकार्यका नयाँ आयामहरू खुल्ने विश्वास व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ।

त्यस्तै, युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोउदीले नयाँ सरकार गठनपछि आफ्नो पहिलो भ्रमण रहेको उल्लेख गर्दै भ्रमणले दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि युएई सरकार सकारात्मक रहेको र प्रविधि, पूर्वाधार, शिक्षा लगायतका क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको जेयोउदीको भनाइ थियो। 

मन्त्री जेयोउदीले युएईको विकासमा नेपाली श्रमिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाल–युएई सम्बन्धलाई थप उचाइमा पुर्याउन दुवै देशबिचको सहकार्य अझ विस्तार गरिने विश्वास व्यक्त गरे। 

मन्त्री अल जेयोउदीसहित १८ सदस्यीय प्रतिनिधिमण्डलले सभामुख अर्यालसँग भेट गरेको हो।