गायक तथा कलाकार अशोक दर्जीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भिडियो बनाएर सामाजिक सञ्जालमा ‘भाइरल’ बनाइएको भन्दै कारबाहीको माग गरेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनी, झापामा निवेदन दिँदै अशोकले आफ्नो भविष्यमाथि खेलवाड गर्ने काम भएको भन्दै तत्काल पक्राउ गरी कारबाहीको माग गरेका छन्।
उनले एक हप्ताअगाडि दुईजना व्यक्ति आएर आफूलाई चोर भन्दै कुटपिट गर्दै भिडियो बनाएको उजुरीमा उल्लेख गरेका छन्।
“यसले हजार रुपैयाँ चोर्यो भन्दै भिडियो बनाएका थिए। मैले पटक–पटक भिडियो हटाउन आग्रह गर्दा पनि मानेनन्,” उनले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ। “पीडितबाट उजुरी प्राप्त भएको छ, उजुरी आएपछि हामी छानबिन गरिरहेका छौँ,” झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन्।




















