रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १ सय ५९ जना अझै सम्पर्कविहीन छन्।

कोशी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार रसुवाको बाढीमा परेर सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै सोलुखुम्बुका ४२ जना छन्। त्यसपछि ओखलढुंगाका २५, मोरङका १७, सुनसरी र उदयपुरका १६–१६ तथा झापाका १३ जना छन्। 

त्यस्तै, खोटाङका १०, इलामका ९, संखुवासभा र भोजपुरका ३–३, ताप्लेजुङ र धनकुटाका २–२ तथा पाँचथरका १ जना सम्पर्कविहीन रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा रहेका कोशीका ५ जना उद्धारपछि परिवारको सम्पर्कमा आएका छन् भने २७ जनाको उपचार भइरहेको छ। इलामका एक जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीपछि सम्पर्कविहीन हुनेमा रसुवामा रोजगारी, पर्यटन, ट्रेकिङ तथा जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिहरू छन्। कतिपय व्यक्ति चीनको तिब्बतबाट नेपाल फर्कने क्रममा सम्पर्कविहीन भएका हुन् भने केही ट्रेकिङका लागि तिब्बततर्फ जाँदै थिए।

सोलुखुम्बुका मात्रै दर्जनौं व्यक्ति विभिन्न ट्रेकिङ कम्पनीमार्फत काठमाडौं हुँदै तिब्बत पुगेको उल्लेख छ। उनीहरू रसुवाको टिम्बुरे, मैलुङलगायत क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको जनाइएको छ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ का २५ वर्षीय सुशान्त कुलुङ हिमालयन ट्रेक कम्पनीमार्फत काठमाडौं हुँदै तिब्बत गएका थिए। त्यस्तै थुलुङ–दूधकोशी गाउँपालिका–८ का ५० वर्षीय डम्बर राई र वडा नं ९ का ४८ वर्षीय पान्देउ राई तिब्बतबाट नेपाल फर्कने क्रममा टिम्बुरेबाट सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ।

माप्य दूधकोशी गाउँपालिका–२ का तुलबहादुर थापा मगर, हर्कबहादुर थापा मगर र प्रकाश मगर पनि तिब्बतबाट नेपाल फर्कने क्रममा सम्पर्कविहीन भएका छन्। त्यस्तै माप्य दूधकोशी–३ का नवीन घिमिरे रसुवाको मैलुङ हाइड्रोपावरमा कार्यरत रहेको उल्लेख छ।

नेपाली सेनाका प्यूठ विनोद बस्नेत पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। उनी थुलुङ दूधकोशी गाउँपालिका–२, काँगेलका बासिन्दा हुन्। नुवाकोटस्थित श्री शेर गणबाट मैलुङ हाइड्रोपावरको सुरक्षा पोस्टमा कार्यरत रहेका बेला उनी सम्पर्कविहीन भएका हुन्।