एम राई
बेलबारी नगरपालिका–६, बोराबाँध मोरङका खेतका गरा, पैनी र धुलाम्मे बाटोमा मोजा र बलाडरको बलले खेलेर हुर्किएर फुटबलको ठूलो मैदानसम्म पुगेका एक चर्चित तथा प्रतिभाशाली फुटबल खेलाडी हुन्—डम्बर राई।
उनी फागु आले मगर, देवनारायण चौधरी,शंकर राई, दिपेन्द्र धिमाल, पावर खवास, तारिक चौधरी, पारस चौधरीहरू लगायत पछिको पुस्ताको मोरङ जिल्लाले जन्माएको एक होनहार खेलाडी हुन्। औपचारिक प्रशिक्षण र पर्याप्त सुविधाभन्दा पनि खेलप्रतिको लगाव, मेहनत र निरन्तर अभ्यासले उनको फुटबल यात्रालाई अगाडि बढायो।
आफ्नो सक्रिय खेलजीवनमा उनले स्थानीयदेखि उच्चस्तरसम्मका थुप्रै प्रतियोगिता खेले। फुटबलले उनलाई नेपालमा मात्रै सीमित राखेन, छिमेकी देश भारतसम्म पनि डोर्यायो। २०५० को दशकदेखि स्थानीय स्तरमा भएका प्रायः कुनै पनि प्रतियोगिता उनको सहभागिताबिना पूरा भएनन्।
उच्च शिक्षा अध्ययनका क्रममा धरान बसाइँले उनको फुटबल प्रतिभालाई अझ निखार्ने अवसर दियो। त्यसपछि उनले मोरङ जिल्ला तथा विराटनगरको सम्राट स्पोर्टिङ क्लबको नेतृत्व गर्दै धेरै प्रतियोगिताहरू खेले। त्यो बेलादेखि सुरु भएको उनको फुटबल यात्रा आज पनि भेट्रान खेलाडीका रूपमा जारी छ।
दुर्भाग्य भन्नुपर्छ, त्यतिबेला एन्फाभित्रको विवादका कारण लिग हुन सकेन। लिग नियमित रूपमा सञ्चालन भएको भए सायद उनले राष्ट्रिय टिमको ढोका खोल्न सक्ने थिए।
तर राष्ट्रिय टिममा पुग्न नपाए पनि उनको असाधारण खेल कौशलले उनलाई फुटबलप्रेमीहरूको माझ सम्झनामा अमिट छाप बनाएको छ। स्ट्राइकरको भूमिकामा अनुशासन र आत्मा विश्वासले खेल्ने ड्रिब्लिङ, कन्ट्रोलिङ्ग र सटिक प्रहारमार्फत गोल गर्ने अद्भुत क्षमता उनका विशेषता थिए।
खेतको गरा,पैनि तथ धुलाम्मे बाटो देखि सुरु भएको उनको फुटबलको ठूलो मैदानसम्मको यात्रा आज पनि धेरै फुटबलप्रेमीका लागि एउटा प्रेरणादायी कथा हो।
डम्बर राई—एक यस्तो प्रतिभा, जसलाई समयले बिर्सन सक्ला, तर फुटबलको मैदानले कहिल्यै बिर्सने छैन।












