प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो। 

बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्‍याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नेछन्।  

उक्त प्राकृतिक विपद्मा ठुलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको र धेरै बेपत्ता भएको घटनाप्रति सभाले शोक व्यक्त गर्नेछ। साथै, घरबारविहीन भएकाहरूको व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्ने कार्यसूची रहेको छ।