सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा जोडिएका तीन नाबालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई बालसुधार गृहमा पठाउने सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतका आदेश सर्वोच्चले बदर गरेको हो।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले परिवर्तित नाम वीरेन्द्रनगर (ध), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) लाई बाबु, आमा वा परिवारका जिम्मेवार व्यक्तिको जिम्मा लगाएर मुद्दाको बाँकी कारबाही अघि बढाउन आदेश दिएको हो।
यसअघि सुर्खेत जिल्ला अदालतले १७ चैत २०८२ मा थुनछेक आदेशमार्फत तीनै नाबालकलाई बालसुधार गृह पठाउने निर्णय गरेको थियो। जिल्ला अदालतको आदेशलाई उच्च अदालत सुर्खेतले २४ वैशाख २०८३ मा सदर गरेपछि उनीहरूका तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको थियो।
सर्वोच्चले तीन नाबालकलाई बालसुधार गृहमा राखिरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दा उनीहरूविरुद्ध संकलित प्रमाण र अनुसन्धानका क्रममा देखिएको घटनाक्रमलाई आधार बनाएको छ।
अदालतको आदेशअनुसार तीनै नाबालकले प्रहरी तथा अदालतसमक्ष दिएको बयानमा आफूमाथिको आरोप पूर्ण रूपमा अस्वीकार गरेका छन्। त्यस्तै, घटनाका मुख्य आरोपी भनिएका वीरेन्द्रनगर (प) ले समेत ती तीन नाबालक घटनामा संलग्न रहेको भन्दै पोल नगरेको सर्वोच्चको आदेशमा उल्लेख छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको प्राविधिक विश्लेषण, फोन संवादको समय तथा ट्राफिक कार्यालय, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन विभाग र प्रदेश आयुर्वेद अस्पतालका सीसीटीभी फुटेजको अध्ययनलाई पनि सर्वोच्चले आधार मानेको छ।
उक्त प्रमाणहरूको विश्लेषणबाट ती तीन नाबालक घटना घटिसकेपछि र पीडित बेहोस अवस्थामा पुगेपछि उद्धार तथा सहयोगका लागि मात्र घटनास्थल पुगेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुर्पक्षका लागि उनीहरूलाई बालसुधार गृहमा नै राख्नुपर्ने अवस्था विद्यमान नरहेको सर्वोच्चको निष्कर्ष छ। सोही आधारमा अदालतले उनीहरूलाई अभिभावकको जिम्मा लगाएर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको हो।
यद्यपि, अभिभावकको जिम्मा लगाएसँगै उनीहरूविरुद्धको मुद्दा अन्त्य भने भएको छैन। मुद्दा किनारा नलागुञ्जेल अदालतले खोजेका बेला अनिवार्य रूपमा उपस्थित हुनुपर्ने तथा अदालतको पूर्व अनुमति नलिई देशबाहिर जान नपाउने सर्त सर्वोच्चले तोकेको छ।
ट्युसन पढ्न हिँडेकी इनिषा वनमा अचेत भेटिएकी थिइन्। गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई परिवारसँग वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिषा २३ फागुन २०८२ मा बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन्।
बिहान करिब ९ बजेतिर उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल प्रदेश अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले सोही दिन इनिषाका प्रेमी भनिएका १६ वर्षीय नाबालक वीरेन्द्रनगर (प) लाई नियन्त्रणमा लिएको थियो। घटनाको अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले थप तीन नाबालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।
इनिषालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगसम्बन्धी मुद्दा अहिले सुर्खेत जिल्ला अदालतमा विचाराधीन छ। सर्वोच्चको पछिल्लो आदेशले तीन नाबालकलाई बालसुधार गृहबाट अभिभावकको जिम्मा लगाउने व्यवस्था गरे पनि उनीहरूमाथिको मुद्दाको न्यायिक प्रक्रिया भने जारी रहनेछ।












